संक्षिप्त परिचय

हिमाल, पहाड र तराईसम्म फैलिएको यस कोशी प्रदेशमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, सुनसरी, मोरङ, सोलुखुम्बु ओखलढुङ्गा र उदयपुर गरी जम्मा १४ वटा जिल्ला पर्दछन् | यस प्रदेशको पूर्वतर्फ भारतको पश्चिम बंगाल राज्य र दक्षिणतर्फ बिहार राज्य पर्दछन् | यसै गरी उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिमतर्फ मधेस प्रदेश र वागमती प्रदेश पर्दछन् | अक्षांशको हिसाबले यो प्रदेश २६∘ २७’ १५ “ पर्दछ भने देशान्तरको हिसाबले ८७∘ १६’ ४७” पर्दछ | यस प्रदेशको कुल क्षेत्रफ़ल २५,९०५ वर्ग कि.मि. तथा कूल जनसंख्या ४५,३४,९४३ रहेको छ | मोरङ जिल्लाको विराटनगरलाई प्रदेशको अस्थायी राजधानी तोकिएको छ |

जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्यरूपमा ब्राम्हण, क्षेत्री, राई, लिम्बू, थारु, लेप्चा, तामाङ, गुरूङ, मेचे, कोचे, यादव, राजवंशीलगायतका जातिहरूको बसोबास रहेकोछ भने नेपाली, मैथिली, किराँती, तामाङ, लिम्बू, गुरूङ, लेप्चा, मगर र थारू भाषा मुख्य रूपमा बोलिन्छन् । विश्वकै सर्वोच्च शिखर सगरमाथालगायत कुम्भकर्ण (फक्ताङलुङ), मकालु, चोयु, लोत्से, जन्नु, यलुङकाङ, आदि हिमालहरूको अवस्थितिले मित्र राष्ट्र चीनसँग प्राकृतिक सीमाको काम गरेको छ | यस प्रदेशमा इलामको अन्तुडाँडा,कन्याम,धनकुटाको भेडेटार,सोलुखुम्बुको नाम्चे बजार, सगरमाथा आधार शिविर तथा सुनसरीको तालतलैया लगायतका पर्यटकीय स्थलहरू रहेका छन् | प्राकृतिक सम्पदा,वन्यजन्तु तथा पशुपंक्षीको संरक्षण गर्ने हेतुले स्थापना गरिएका सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु बरूण राष्ट्रिय निकुञ्ज, कोशी टप्पु वन्यजन्तु आरक्ष, कञ्चनजङ्घा संरक्षण क्षेत्रलगायत नेपालकै अग्लो ह्यातुङ झरना तथा टोड्के र पकलीजस्ता ठुला र लामा झरनाहरू पनि यसै प्रदेशमा रहेका छन् |